चीनले नेपालसँग दिर्घकालिन रुपमा ब्यापार गर्न मुस्ताङको कोरला नाकासम्म सडक विस्तार गरेको छ । पछिल्लो ५ महिनामा चीनले आफ्नो तर्फको भुभागमा २० किमी सडक खनिसकेको छ । यहि असार १ गतेदेखि २५ दिनका लागि नाका खोलेर चीनले नयाँ कच्ची सडकमा सवारी सञ्चालन गर्यो । मेला लाग्ने स्थानसम्म चीनबाट सवारी आए । तर, नेपालले आफ्नोतर्फ सडक लगायतका पूर्वाधार द्रुत गतिमा निर्माण गर्न नसक्दा नाका खुले पनि नेपाली व्यापारीले चाहे अनुसारको सामान ल्याउन सकेका छैनन् ।
हाल कच्ची सडक जोडेको चीनले ढुंग्वासेन बजारदेखि नेपाल तर्फको कोरला नाकासम्म कालोपत्रे सडक जोड्न तीब्र गतिमा काम गरिरहेको छ । कच्ची सडकमा अहिले सवारी गुडाएको चीनले तुरुन्तै यो सडक कालोपत्रे गरेर बर्षभरि यातायात सुचारु गर्ने भएको छ । यहि ग्राभेल सडकमा अहिले मोटर गुडिरहेका छन् ।
‘कोरला नजिकै चीनले सडक विस्तार गरेको देख्दा भविष्यमा ब्यापारिक नाकाको सम्भावना बढ्दै गएको सशस्त्र प्रहरीका डिएसपी डिलप्रसाद भट्टले बताए । ‘मैले नाकाभित्र चीनतर्फको भूभाग अवलोकन गर्ने अवसर पाएँ,’ चीन तर्फको भूभाग अबलोकन गरेर फर्केका उनले भने, ‘नाका खुलेर मेला लागे पनि नेपाल तर्फको सडक गतिलो नहुँदा सोचे अनुसारको आयात निर्यात हुन सकेन ।’ हामीले हाम्रो तर्फको सडक तीब्र रुपमा निर्माण गर्नुपर्ने आवश्यक देखिएको उनले बताए ।
ठाउँ ठाउँमा सडक भत्किएकोले २५ गतेसम्म खुल्ने नाकाबाट व्यापारीले सामान ल्याउन सकेका छैनन् । बर्षायाम भएकोले अहिले जोमसोमबाट कोरला पुग्न निकै कठिनाई भएको छ । केहि स्थानमा खोला बढेर सवारी परिवर्तन गर्नुपर्छ । पुल निर्माणमा ठेकेदारले लापरवाही गर्दा खोला बढेकोले सवारी तर्न सकेका छैनन् ।
नेपालमा नाकाबन्दी लागेपछि उत्तर तर्फका नाका खुलाउने हल्ला चलेपछि चीनको स्थानीय ढुंग्वासेन जिल्लाले कोरला नाका जोड्न सडक खन्ने कामलाई तीब्रता दिएको थियो । तर, नेपालले कोरला जोड्न जिम्मा दिएका सडक निर्माणका ठेकेदारलाई अनियमितता गरेको पुष्टि हुँदा पनि कारवाही नगर्दा कालीगण्डकी करिडोरको यो रुट अलपत्र छ ।
